नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको फागुन महिनाको तुलनामा चालु आवको फागुन मसान्तसम्म अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ९.४ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ८३.९५ अमेरिकी डलरमा पुगेको छ ।
गत वर्ष सो अवधिमा अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल तेलको मूल्य ७६.७७ अमेरिकी डलर रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्ने गर्छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको प्रभाव स्वतः स्थानीय बजारमा पर्ने गर्छ । नेपालमा इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यका आधारमा नेपाल आयल निगमले स्थानीय बजारमा मूल्य निर्धारण गर्ने गर्छ । निगमले आइओसीबाट पेट्रोलियम पदार्थ खरिद गरी नेपालमा ल्याएर वितरण गर्ने गर्छ ।
आइओसीले पठाएको मूल्यको आधारमा निगमले बजारमा इन्धनको मूल्य निर्धारण गर्छ । आइओसीले पठाएको मूल्य घटेर आए घट्ने र बढेर आए बढ्ने गर्छ । गत १ अप्रिलमा इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्य अनुसार पेट्रोलको मूल्य चार रुपियाँ ७६ पैसा बढेर आएकाले निगमले स्थानीय बजारमा प्रतिलिटर चार रुपियाँ पेट्रोलमा मूल्य बढाएको थियो ।
पछिल्लो एक/डेढ महिनादेखि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारणले निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्दै आएको छ । निगमलाई खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिन्डर २९६ रुपियाँ घाटा भए पनि अन्य पेट्रोलियम पदार्थमा भने नाफा रहेको छ । हाल बजारमा पेट्रोल प्रतिलिटर १७५, डिजेल/मटितेल प्रतिलिटर १५७ रुपियाँ रहेको छ ।