सुनसरी, चैत २३ गते । शुक्रबार बिहानबाट अशान्त बनेको सुनसरीको भुटाहा बजार तनावग्रस्त बनेको छ । हिन्दु र मुस्लिम समुदाय दोहोरा भिडन्तमा उत्रिएपछि अवस्था नियन्त्रण बाहिर गएको हो ।
दिउँसो १ बजेपछि सुरु तनाव दोहोरो झडपमा परिणत भएको छ । तनावग्रस्त क्षेत्रमा बाक्लो सुरक्षा तैनाथ भए पनि दुई पक्षको हुलका कारण सुरक्षाकर्मी पछि हट्नुपर्ने अवस्थाको सृजना भएको छ ।
प्रदर्शनकारीले गाउँपालिकाको कार्यालय, इलाका प्रशासन कार्यालय र प्रहरी पोष्टमा क्षति पुर्याएका छन् । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार अहिलेसम्म ५१ राउण्ड हवाई फायर भइसकेको छ । दुई जनालाई गोली लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
अश्रुग्यास र हवाई फायर के कति भएको भन्ने विषय यकिन भइ नसकेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
यसैबिच अवस्था नियन्त्रण बाहिर जाने देखेपछि सुरक्षा समितिको आपतकालीन बैठक बसेको छ । दलीय प्रतिनिधिसहितको उपस्थितिमा प्रशासन कार्यालयमा बसेको बैठकले अनियन्त्रित बन्दै गएको भिडलाई संयमता अपनाउन पहल गरिदिन सरोकारवाला समक्ष आग्रह गरेको छ ।
कोशी प्रदेशका तीन वटै सुरक्षा निकायका डीआइजीसमेतको उपस्थितिमा इनरुवामा सम्पन्न बैठकले अवस्था थप नियन्त्रण बाहिर जाने देखिए सुरक्षाकर्मीले बल प्रयोग गर्नसक्ने चेतावनी दिएको छ ।
जारी तनाव र प्रदर्शन दक्षिणी भेग हुँदै आसपासका शहर बजारमा समेत बढ्दै गएको छ । दुई समुदायका प्रदर्शनकारी आपसमा भिडेपछि भुटाहा बजार सँगै गौतमपुर, देवानगञ्जलगायत दक्षिणी भेगका अधिकांश क्षेत्र तनावग्रस्त बनेको छ ।
यो समाचार तयार पार्दासम्म सुनसरी प्रशासनले हरिनगरा गाउँपालिकाका सबै वडा र देवानगञ्जको १ र २ नम्बर वडालाई लक्षित गरी निषेधाज्ञा जारी गरेको छ ।
आवश्यकता अनुसार दायरा बढाउने वा थप कडाइको आदेश गर्नसक्ने जनाएको छ । भुटाहामा अघिल्लो दिन हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेका थिए ।
उक्त घटनामा घाइते जीवन मेहता धरानमा उपचाररत छन् ।