भन्सार छलेर नेपालगन्जमा ल्याएर भण्डारण गरिएको एघार लाख भन्दा बढीको अवैध सामान बरामद गरेको भोलिपल्ट बुधबार प्रहरीले साढे चार लाख रुपियाँको अवैध सामान बरामद गरेको छ।
नेपालगन्ज १६ जयसपुरस्थित प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा भारतबाट भन्सार छली, चोरी, पैठारी गरी ल्याई थुपारी राखेका चार लाख ४६ हजार आठ सय बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रहरीका अनुसार, बरामद गरिएका सामानमा बच्चाको जुत्ता, मोजा, चप्पल, छालाको पेटी, पर्दाको कपडा र फ्रिजको ग्याँसलगायत छन्। बाँके जिल्लाका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले अवैध सामान आएको भन्दै सक्रिय हुन सुरक्षाकर्मीलाई निर्देशन दिँदै आउनुभएको छ।
उहाँले प्रहरीले अवैध रूपमा भइरहेको चोरी पैठारी र निकासी तथा अन्य विभिन्न आपराधिक क्रियाकलापविरुद्ध कडा अभियान सुरु गरेको बताउनुभयो। तर दैनिक अवैध सामान आउनेक्रम भने रोकिएको छैन।