पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन चोक स्थित हिमालयन आँखा अस्पताल नजिकै भित्री सडक खण्डमा विद्यालयको बस दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
नागढुङ्गामा रहेको न्यु मोडल माध्यमिक विद्यालयको ग १ क ४६६१ नं. को विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा एक जना घाइते भएका हुन् । बसले नियन्त्रण गुमाई सडकबाट करिब ३ मिटर तल खस्न गई पार्किङ गरी राखेको ट्याक्सी माथि पर्न जाँदा बस चालक स्याङ्जा भिरकोट नगरपालिका २ बयरघारी घर भई हाल पोखरा ९ कृष्ण टोल बस्ने ५४ वर्षीय दल बहादुर गुरुङ घाइते भएका हुन् ।
घाइते गुरुङलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएको र निजको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
बसमा २० जना विद्यार्थी सवार रहेको र उनीहरू सबै सकुशल रहेको साथै कुनै चोटपटक नभएको बताइएको छ ।
बसको ठक्करबाट ग १ ज २९३४ नं. को ट्याक्सी अगाडि र पछाडिको भाग क्षति भएको छ भने ग१ ज २२४१ नं. को ट्याक्सीको अगाडिको भागमा क्षति भएको प्रहरीले जनाएको छ । साथै ग १ ज ४१८० नं. को ट्याक्सीमा पनि बम्पर र सिसा फुटी क्षति भएको छ ।