साउन २२ गते । सोमबार रातिको अविरल वर्षाका कारण बाढी र पहिरोमा परेर बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आठ जनाको ज्यान गएको खबर छ ।
पालिकाको वडा नम्बर १० स्थित आरुपाटा निवासी जोगलाल बुढाको घर र गोठ पुरिँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना पहिरोमा परेर गम्भीर घाइते भएका छन् ।
बडिगाड–९ मा पहिरोमा परी दुई जनाको ज्यान गएको छ । उक्त पहिरोमा परेर १५ वर्षका विधान परियार र २४ वर्षका गङ्गा बस्नेतको ज्यान गएको हो । परियारलाई घर माथिबाट आएको पहिरोले पुरेको थियो भने बस्नेत बाटोमा हिँड्दै गर्दा पहिरोले पुरेको थियो ।
त्यस्तै मृत्यु हुनेहरूमा बडिगाड १० निवासी सात वर्षीया मालती बुढा, सात वर्षीय मधु बुढा, सन्जु विकको छ महिनाकी छोरी, १२ वर्षका मनोज बुढा, १२ वर्षका अमन बुढा र ५९ वर्षका मैतीदेवी रहेका छन् । पहिरोमा परी वर्ष ४६ का सङ्गीता बुढा, वर्ष ५९ का सुमित्रा बिक, वर्ष ३२ का सिता थापा र वर्ष ४२ का मङ्गलसिंह बुढा गम्भीर घाइते भएका छन् ।