मालपोतका हाकिमले किस्ता किस्तामा घुस लिएको गुनासो आएपछि - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

मालपोतका हाकिमले किस्ता किस्तामा घुस लिएको गुनासो आएपछि - Gandaki Express

तस्विर : गोरखापत्र 


असोज १७ गते । जिल्ला मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुखले एउटै सेवाग्राहीबाट पटक–पटक घुस लिएको पाइएको छ । छुट जग्गा दर्ताका लागि आवेदन दिएका एक जना सेवाग्राहीबाट पाँच पटक गरी ५१ हजार दुईसय रुपियाँ घुस लिएको प्रमाण भेटिएको छ । 


कार्यालय प्रमुख अशोक सार्कीले बुधबार आफ्नै कार्यकक्षमा सेवाग्राही पाटन नगरपालिका–८, का नरबहादुर विष्ट र धनसिंह विष्टबाट पाँचौँ पटक घुसको अन्तिम किस्ता लिने बेलाको भिडिओ सार्वजनिक भएको छ । 


कार्यालय प्रमुखले सेवाग्राही विष्टबाट छुट जग्गाको फाइल दर्ता गर्नेबेला २०८१ वैशाख ३० गते पाँच हजार, स्थलगत सर्जमिन मुचुल्का बनाउने बेला फिल्डभत्ता भन्दै २०८१ साउन ६ गते १० हजार, त्यसपछि ६ हजार दुईसय, कर्मचारीलाई मिलाउनुपर्ने भन्दै २०८१ भदौ १७ गते २० हजार, काम सम्पन्न गरी दस्तखत गर्ने बेला असोज १६ गते घुसको अन्तिम किस्ता १० हजार गरी ५१ हजार दुईसय रुपियाँ घुस लिएको पीडितको गुनासो छ । 


कार्यालय प्रमुखले पटक पटक घुस लिएको अडिओ–भिडिओ प्रमाण आफूसँग सुरक्षित रहेको सेवाग्राही नरबहादुर विष्टले बताउनुभयो । काम हुन्छ भन्दै छ महिनासम्म झुलाएर पाँच पटक घुस दिन बाध्य भएको उहाँले पीडा सुनाउनुभयो ।  


सेवाग्राही विष्टले भन्नुभयो, “हाकिमसापलाई ५१ हजार दुईसय रुपियाँ नगद र बैतडीबाट घर बिदा जाने बेला पाटन नगरपालिका –८, खोड्पे बजारमा १० किलो आलुसमेत दिएको छु । काम हुन्छ भनेपछि नगदसहित १० किलो आलु दिएँ ।”


घुस लिएको भिडिओका विषयमा कार्यालय प्रमुख सार्कीले सेवाग्राही आफैले टेबुलमा राखिदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “खाड्पेतिरका सेवाग्राही आफैले टेबुलमा पैसा राखिदिएका हुन् । फोटो पनि खिचेका रहेछन् । त्यस्तो त खासै होइन, आफैले दिएका हुन् ।”  कार्यालय प्रमुख सार्कीले सेवाग्राहीलाई फोन गरेर, भेटेर मात्र होइन, घुसको अन्तिम किस्ता कार्यालयमै लिएको भिडिओ सार्वजनिक भएको छ । गोकर्ण दयालले गोरखापत्रमा समाचार लेख्नुभएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :