डिआर काफ्ले ,
पोखरा, सामाजिक अध्ययन मञ्च कास्कीले आधारभूत तह कक्षा ८ को सामाजिक विषयको प्रश्न पत्र निर्माण तथा उत्तर पुस्तिका परीक्षण कार्यशाला सम्पन्न गरेको छ ।
मञ्चका अध्यक्ष गोविन्द काफ्लेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यशालामा कास्कीका सामुदायिक र निजी विद्यालयका आधारभूत तहका सामाजिक विषयका शिक्षकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि एवम् शिक्षा महाशाखा पोखराका अधिकृत सोमनाथ भण्डारीले सबै विषयको प्रयोगात्मक भागको मूल्याङ्कनमा गम्भीर बन्नुपर्ने बताउनुभयो । उहाँले आउँदै गरेको कक्षा ८ को परीक्षालाई मर्यादित बनाउनका लागि विद्यालयभन्दा बाहिर केन्द्र राखेर सोहीअनुसार उत्तर पुस्तिका परीक्षणको व्यवस्था गरिएको बताउनुभयो ।
सिर्जना आवासीय मा वि ले व्यवस्थापकीय सहयोग गरेको उक्त कार्यक्रमको सहजीकरण मञ्चकी उपाध्यक्ष तथा प्रशिक्षक नारायणी शर्माले गर्नुभएको थियो ।
उक्त कार्यशालामा विशिष्टीकरण तालिकाको प्रयोग , औचित्य र महत्त्व, प्रश्नको ढाँचा र प्रकृति साथै उत्तर पुस्तिका जाँच गर्दा शिक्षकले अपनाउनुपर्ने संयमताका बारेमा व्यापक चर्चा समेत भएको थियो ।
कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष एवम् वरिष्ठ प्रशिक्षक सूर्य बहादुर थापाले शिक्षकका प्रश्न पत्र निर्माणका सम्बन्धमा उठेका प्रश्नहरूका बारेमा त्यसको समाधान सहित छलफल गर्नुभएको थियो भने संस्थाका निवर्तमान अध्यक्ष दिनेश अर्यालले सामाजिक विषय शिक्षण र त्यसको शिक्षण पद्धतिका बारेमा चर्चा गर्नुभएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन मञ्चका सचिव तिलक प्रसाद काफ्लेले गर्नुभएको थियो ।