चैत २७, पोखरा — मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा पाँच वर्ष कैद सजाय तोकिएका गोरखा सदरमुकामका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखा नगरपालिका–११ का २१ वर्षीय निरज ढकाल रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ।
ब्यूरोको टोलीले उनलाई गोरखा सदरमुकामबाट पक्राउ गरी राजधानी ल्याएको हो। ढकालले काठमाडौंको टोखा क्षेत्रमा एक घर भाडामा लिएर खाजा पसल सञ्चालन गर्दै आएका थिए। प्रहरीले उनलाई त्यही खाजा घरको आडमा एक नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा अनुसन्धानमा पारेको थियो।
ढकाललाई २०७९ मंसिर २५ गते प्रहरीको ब्यूरो टोलीले पक्राउ गरेको थियो। आरोप अनुसार उनले प्रति ग्राहक एक हजार रुपैयाँ लिई बालिकालाई यौन कार्यमा संलग्न गराएका थिए। पक्राउपछि उनी एक लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।
मुद्दाको फैसलामा उनी दोषी ठहरिएर पाँच वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएको छ। फैसला कार्यान्वयनका लागि उनलाई पुनः पक्राउ गरिएको हो।

