घाइते हुनेमा सोही स्थानका २६ वर्षीय टेकप्रसाद गुरुङ रहेका छन्। गुरुङलाई गम्भीर चोट लागेपछि गण्डकी अस्पताल पोखरा लगिएको र हाल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
स्थानीयका अनुसार बिहीबार साँझ करिब ५ बजेतिर भोजे सामुदायिक जङ्गलमा कुरिलो टिप्ने क्रममा गुरुङमाथि भालुले आक्रमण गरेको हो। वडाध्यक्ष लक्षुमन गुरुङका अनुसार तीन जना युवक जङ्गल गएका थिए भने आक्रमणपछि हारगुहार सुनेर पुगेका अन्य दुई जनाका कारण भालु भागेको थियो।
जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक रमेश बोहाराका अनुसार गुरुङको अनुहार र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ।
डिभिजन वन कार्यालय लमजुङका प्रमुख दीपक पण्डितका अनुसार वसन्त ऋतुमा वनमा कुरिलो, टुसा, नियुरो खोज्ने क्रमसँगै मानिस र वन्यजन्तुबीचको द्वन्द्व बढ्ने गरेको छ। बर्सेनि यस्ता घटना दोहोरिने गरेको पनि उनले बताए।