चैत २२, तनहुँ। तनहुँको भानु नगरपालिकामा शुक्रबार एक यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय भानुका प्रमुख दीपक कुँवरका अनुसार दुर्घटना भानु नगरपालिका–१ स्थित अधेरी खोलानजिक दिउँसो ४ः२५ बजे भएको हो।
चितवनको नारायणगढबाट लम्जुङको बेँसीशहरतर्फ जाँदै गरेको ग १ ख ६४९८ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा करिब ४० जना यात्रु सवार थिए। दुर्घटनामा १५ जना घाइते भएकोमा दुई जनाको अवस्था गम्भीर, दुई जना मध्यम, र बाँकी ११ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनापछि बस चालक फरार छन् र उनको खोजी कार्य जारी छ।
घाइते यात्रुहरूको उद्धार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा गरिएको थियो। उनीहरूलाई उपचारका लागि डुम्रेस्थित लक्ष्मी अस्पताल र मोति मेडिकलमा पठाइएको छ।