पर्सा — नयाँ कपडा किनिदिने प्रलोभनमा पारेर नाबालिकालाई भारतको रक्सौलसम्म पुर्याई यौनशोषणमा संलग्न गराएको अभियोगमा पर्साको वीरगन्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया आलिया खातुन पक्राउ परेकी छन्। पर्सा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार उनलाई वैशाख २७ गते पक्राउ गरिएको हो।
प्रहरीका अनुसार खातुनले वैशाख २१ गते ती नाबालिकालाई कपडा किनिदिने भन्दै भारतको सीमावर्ती सहर रक्सौल पुर्याएकी थिइन्। त्यहाँको एक होटलमा लगेर उनलाई जबरजस्ती यौनधन्दामा संलग्न गराइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
प्रहरी उपरीक्षक मिश्रका अनुसार, पीडित नाबालिकालाई भारतीय सुरक्षाकर्मीको समन्वयमा उद्धार गरी नेपाल ल्याइएको हो। खातुन यसअघि पनि यस्तै कार्यमा संलग्न रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।
यस घटनामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दायर गरिएको छ। अदालतबाट पाँच दिनको म्याद लिएर खातुनमाथि विस्तृत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
पीडित बालिकाको संरक्षण र पुनःस्थापना प्रक्रिया सम्बन्धमा आवश्यक पहल भइरहेको प्रहरीले जानकारी दिएको छ।