असार ११, असार ९ गते बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णयहरू असार ११ गते सार्वजनिक गरिएका छन्। बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत ती निर्णयहरूको जानकारी दिनुभएको हो।
बैठकमा सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरिएको छ। यस्तै, अध्यागमन तथा भिजिट भिसा सम्बन्धी दीर्घकालीन समस्याको अध्ययन एवं समाधानका लागि पूर्व मुख्यसचिव शङ्करदास बैरागीको अध्यक्षतामा सात सदस्यीय उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरिएको छ। यस समितिमा विभिन्न मन्त्रालयका सहसचिवहरू सदस्य रहनेछन्।
सरकारले असार १३ देखि २९ गतेसम्म इटालीको रोममा आयोजना हुने एफएओको ४४औँ सत्र तथा इटाली र जर्मनीमा लगानी बोर्ड नेपालद्वारा आयोजना हुने लगानी प्रवर्द्धन कार्यक्रममा सहभागिताका लागि परराष्ट्रमन्त्रीलाई स्वीकृति दिएको छ।
त्यस्तै, कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्यहरूको पारिश्रमिक, सेवा–सर्त तथा कार्यसञ्चालनसम्बन्धी व्यवस्था स्वीकृत गरिएको छ। असार १४ गते जर्मनीको बोनमा आयोजना हुने ३६औँ नेपाल डे कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई सहभागी हुन अनुमति दिने निर्णय पनि गरिएको छ।
सरकारले अन्तर्राष्ट्रिय भलिबल, उसु र कबड्डी प्रतियोगितामा पदक जितेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक र व्यवस्थापकहरूलाई पुरस्कार तथा सम्मान प्रदान गर्न स्वीकृति दिएको छ। कुल २७ जना यस सम्मानमा पर्नेछन्।
नेपाली सेनासम्बन्धी निर्णयअनुसार दुईजना महासेनानीको कार्यकाल थप गर्ने, एक रथीलाई उपरथीमा बढुवा गर्ने र दुईजना उपरथीको सरुवा गर्ने निर्णय पनि गरिएको छ। साथै, अवैतनिक वाणिज्यदूत सम्बन्धी छैटौं संशोधन नियमावली २०८२ स्वीकृत गरिएको छ।
त्यस्तै, नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ संशोधन गर्न बनेको विधेयक संसद्मा पेश गर्न स्वीकृति दिइएको छ भने राष्ट्रिय खेलकुद नीति, २०८२ र तथ्याङ्क प्रणाली विकासका लागि राष्ट्रिय रणनीति पनि स्वीकृत गरिएको छ।
सरुवा सम्बन्धी निर्णयअनुसार सचिव भरतमणि सुवेदीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव, महादेव पन्थलाई निर्वाचन आयोगको सचिव, शोभाकान्त पौडेललाई महालेखा नियन्त्रक, र डा. खगेन्द्रप्रसाद सुवेदीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा सरुवा गरिएको छ।