शुक्रबार राति करिब ८ बजे जनकपुर–ढल्केबर सडक खण्डमा बा.प्र.–०१–००१ ञ २६५४ नम्बरको जिपले सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–६ निवासी ५२ वर्षीय विन्देश्वर मोचीलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका मोचीलाई उपचारका लागि तत्काल जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो, तर उपचारको क्रममा चिकित्सकहरूले उनलाई मृत घोषित गरे।
प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार घटना अँध्यारो र सुनसान स्थानमा भएकोले चालक गाडी सहित फरार भएका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा धनुषा, महोत्तरी र सर्लाही जिल्लामा रहेका विभिन्न सिसी क्यामराका फुटेज सङ्कलन तथा विश्लेषण गरेर गाडीको पहिचान गरिएको थियो। सोही आधारमा रातो रंगको निसान जिपले ठक्कर दिएको पुष्टि भएपछि तीव्र रुपमा खोजी सुरु गरिएको प्रहरीको भनाइ छ।
उक्त गाडी हंसपुर नगरपालिका–९ मा रहेको १३२ केभी ढल्केबर–बालगंगा प्रसारण लाइन आयोजनाको निर्माणाधीन भवनको कम्पाउण्डभित्र त्रिपालले छोपेर राखिएको अवस्थामा फेला परेको थियो। जिपको अगाडिको भाग भाँचिएको, बर्नट टुक्रिएको तथा कपडाको टुक्रा चेपिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
उक्त गाडी नेपाल विद्युत प्राधिकरण, रत्नपार्कको नाममा दर्ता रहेको पाइएको छ। हाल गाडी र चालक दुवै प्रहरी नियन्त्रणमा छन् भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो।