काठमाडौं, असार ११ — काठमाडौंको जनप्रशासन क्याम्पसमा एमपिए तेस्रो सेमेस्टरको परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जुम्ला, चन्दननाथ नगरपालिका–८ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–४, धुम्बाराहीमा बसोबास गर्दै आएका २६ वर्षीय केशव रोकाया रहेका छन्। उनी जनप्रशासन क्याम्पसका विद्यार्थी दानबहादुर रोकायाको सट्टामा परीक्षा दिइरहेका थिए।
जनप्रशासन क्याम्पसबाट प्राप्त उजुरीका आधारमा कालीमाटी प्रहरी वृत्तबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। शिक्षा सम्बन्धी ऐन अन्तर्गतको कसूरमा उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।