मकवानपुर, असार १३ — मकवानपुरको राक्सिराङ गाउँपालिका–८ मेशिराङमा चट्याङ्ग लाग्दा एक बालिकाको ज्यान गएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असार १३ गते साँझ करिब ५:३० बजे घरमै बसिरहेको अवस्थामा अचानक परेको चट्याङ्ग लागेर ७ वर्षीया युनिका प्रजाको मृत्यु भएको हो। चट्याङ्ग लागेपछि गम्भीर घाइते भएकी युनिकालाई तत्काल उपचारका लागि मनहरी अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा राति करिब ८:५२ बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
चट्याङ्गबाट बालिकाकी आमा, २६/२७ वर्षीया रविना प्रजा समेत घाइते भएकी छन्। उनलाई थप उपचारका लागि हेटौँडा अस्पताल रिफर गरिएको छ।
मृतक युनिकाको शवलाई पोस्टमार्टमको लागि पठाइएको र घटनाबारे थप विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।
यसअघि पनि वर्षायाममा चट्याङ्ग लागेर देशका विभिन्न ठाउँमा मानवीय क्षति हुने घटनाहरू दोहोरिएका छन्। मौसम बदलिँदा सुरक्षाका उपाय अवलम्बन गर्न सम्बन्धित निकायहरूले आग्रह गर्दै आएका छन्।