ताप्लेजुङ, साउन ११। बाढीले मोटर गुड्ने पुल बगाएपछि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा बिरामीलाई स्ट्रेचरमा बोकेर उद्धार गरिएको छ।
बाढीले गाउँपालिकाभित्रका बेलिब्रिज र अस्थायी काठेपुल क्षतिग्रस्त बनाएपछि यातायात पूर्णरूपमा अवरुद्ध भएको हो। यसकै कारण गएराति फक्ताङलुङ–६ लुङथुङकी करिब ३० वर्षीया महिला पेम्बा शेर्पालाई १५ जना युवाको समूहले ३ घण्टा स्ट्रेचरमा बोकेर गाडी पुग्ने स्थानसम्म पुर्याएका हुन्।
स्थानीयका अनुसार लुङथुङदेखि तापेथोकसम्म बोकेर ल्याइएकी बिरामीलाई मध्यराति १२ बजे मात्र गाडी सुविधा भएको ताम्मावाखोलामा पुर्याइएको थियो। त्यसपछि उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ। उद्धारमा संलग्न टोली बिहान ७ बजे मात्र गाउँ फर्किएको छ।
बाढीले फक्ताङलुङ–५ तापेथोक र ६ लेलेप जोड्ने रानीपुलसहित थाक्पाखोलाको काठेपुल र माइक्रोहाइड्रोसमेत बगाएको छ। माइक्रोहाइड्रो नष्ट हुँदा सयौँ घरधुरी विद्युत् सेवाबाट वञ्चित भएका छन्।
गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बू (विकास) का अनुसार बाढीले सडक र पुल बगाएपछि सदरमुकाम फुङलिङसँगको सञ्जाल टुटेको छ। तत्काल जलविद्युत् आयोजनासँग समन्वय गरी पुल मर्मतको काम सुरु गर्ने योजना भए पनि खराब मौसमका कारण ढिलाइ भइरहेको जानकारी दिनुभयो।
गतवर्ष पनि फक्ताङलुङ गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको थियो, जसमा चार जनाको ज्यान गएको थियो। यसवर्ष पनि बाढीले ठूलो क्षति पुर्याएको स्थानीयले बताएका छन्।