प्रहरीका अनुसार पक्राउ पर्नेमा रूपन्देही सिद्धार्थनगर–१३ हाटबजारका रेस्टुरेन्ट व्यवसायी महमुदिन एम अहमद, झापा दमक–४ घर भई हाल पोखरा–६ बैदाम बस्ने हिलारी मनिचेन्जरका सञ्चालक राजकुमार बुढाथोकी र पोखरा–१९ पुरनचौरका सगरमाथा मनिचेन्जरका सञ्चालक खेमराज पौडेल रहेका छन्।
प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले पत्रकार सम्मेलनमा जानकारी दिँदै भने, “पक्राउ परेकाहरूको साथबाट १९ हजार ६ सय अमेरिकी डलर, ४ हजार युरो र ४४ लाख ८ हजार रुपैयाँ बरामद भएको छ।”
प्रहरीका अनुसार राजकुमार बुढाथोकी २० वर्षदेखि र खेमराज पौडेल १४ वर्षदेखि मनिचेन्जर सञ्चालन गर्दै अवैध सटही कारोबारमा संलग्न थिए। उनीहरूलाई राष्ट्र बैंक ऐन, २०५८ को परिच्छेद ११, दफा ९५ बमोजिम कारबाही प्रक्रिया अघि बढाइने भएको छ।
नेपाल राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेका अनुसार, मनिचेन्जरहरूले विदेशी मुद्रा खरिद गरेपछि दुई दिनभित्र राष्ट्र बैंकमा अनिवार्य दाखिला गर्नुपर्ने व्यवस्था छ। तर, उनीहरूले सो प्रावधान उल्लंघन गर्दै अवैध कारोबार गरेको प्रहरीको दाबी छ।
प्रहरीले आशंका गरेको छ कि यसरी सटही भएको विदेशी मुद्रा भारत हुँदै अन्य मुलुकमा पुग्ने र अवैध सुन तथा अन्य वस्तु खरिदमा प्रयोग हुने सम्भावना छ। कानुनअनुसार यस्तो अपराधमा बिगो जफत, सो बराबरको तीन गुणा जरिवाना र सात वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।