गोरखा, साउन १५ – गोरखामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मृतक गोरखा नगरपालिका–१० बिरेन्चोकका ७० वर्षीय क्षेत्रबहादुर थापा हुन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बुधबार बेलुकी ४ बजे पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरनी–गोरखा सडक खण्डको बिरेन्चोकमा लु.६१ प.४६८५ नम्बरको मोटरसाइकलले सडक छेउमा हिँडिरहेका थापालाई ठक्कर दिएको थियो।
घाइते थापालाई तत्काल चितवनस्थित मनकामना अस्पताल पुर्याइएको थियो। तर, उपचारको क्रममा बिहीबार बिहान १ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक नवलपुरको मध्यविन्दु नगरपालिका–१ का २९ वर्षीय साजन जिसीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ।