ताप्लेजुङ, साउन १२ – ताप्लेजुङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्। सिरिजङ्घा गाउँपालिका घर भई हाल फुङलिङ नगरपालिका–४ उकालीपानी बस्ने विजय भन्ने सञ्जमान लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार साउन ८ गते साँझ लिम्बूले श्रीमती शान्ति राईसँग विवाद हुँदा कोठामा रहेको कैँचीले पेटमा प्रहार गरेका थिए। घटना ढाकछोप गर्न उनले राईलाई ‘बाटोमा लडेको’ भन्दै जिल्ला अस्पताल पुर्याएका थिए। तर, उपचार सम्भव नभएपछि अन्यत्र लैजाने क्रममा साउन १० गते राईको मृत्यु भयो।
अनुसन्धानमा लिम्बूद्वारा हत्या भएको पुष्टि भएपछि साउन ११ गते उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए। लिम्बूमाथि कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान जारी छ।