कास्कीको लेखनाथतर्फ गइरहेको यात्रुबाहक बसमै एक महिलाको घाँटीबाट २ तोलाको सुनको सिक्री चोरी तथा लुटपाट गरेको अभियोगमा दुई जना व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
मिति २०८१ चैत २९ गते साँझ करिब ५ः१५ बजेको समयमा अम्मरसिंह चोकबाट लेखनाथतर्फ जाँदै गरेको बसमा सवार एक महिलाको घाँटीमा लगाइएको सुनको सिक्री पोखरा महानगरपालिका–१० शिवचोक नजिकै बसमै सवार दुई व्यक्तिले लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले अनुसन्धान सुरु गरेको थियो। घटनामा संलग्न व्यक्तिहरूलाई २०८२ असार २५ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ बाट पक्राउ गरिएको छ।
पक्राउ परेकामा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ का २८ वर्षीय अन्जन तामाङ र त्यही जिल्लाका ३२ वर्षीय सुरेश तामाङ रहेका छन्। दुवैजना हाल काठमाडौंको गोकर्णेश्वर–४ मा बस्दै आएका थिए।
प्रहरीले उनीहरूलाई जिल्ला अदालत कास्कीबाट ६ दिनको म्याद थप गराई चोरी तथा डाँका सम्बन्धी कसुरमा विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।