निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनको कार्यतालिकामा कुनै पनि परिवर्तन नहुने स्पष्ट पारेको छ। आयोगको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले माघ ६ गते नै मनोनयन दर्ता हुने र यसअघि सार्वजनिक गरिएको कार्यतालिका यथावत् लागू हुने जानकारी दिनुभयो।
भण्डारीका अनुसार आयोगले कार्यतालिका सार्वजनिक गरेयता धेरै चरणका काम सम्पन्न गरिसकेको छ र अब मनोनयन दर्ताको चरणमा प्रवेश गरिसकिएको छ। मनोनयन दर्ताका लागि आवश्यक सबै तयारी पूरा भइसकेको उहाँले बताउनुभयो।
निर्वाचन आचारसंहिता लागू भइसकेको र चार महिना अगाडि नै सार्वजनिक गरिएको कार्यतालिकाअनुसार कार्यक्रमहरू सञ्चालन भइरहेको उल्लेख गर्दै उहाँले अब कुनै पनि किसिमको संशोधन, थपघट गर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो।
तोकेको मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गरिने प्रतिबद्धता जनाउँदै भण्डारीले आयोगले निर्धारण गरेको समयसीमाभित्रै मनोनयन पत्र दर्ता गर्नुपर्ने र त्यसपछि कानुनअनुसार जाँचबुझ तथा अन्य प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।

