नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई स्वायत्त, पारदर्शी र प्रतिस्पर्धी संस्थाका रूपमा रूपान्तरण गर्ने उद्देश्यले गठन गरिएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड पुनर्संरचना सम्बन्धी सुझाव समिति–२०८२ ले आफ्नो अध्ययन प्रतिवेदन सरकारसमक्ष बुझाएको छ।
समितिले बुझाएको प्रतिवेदनमा नेप्सेको पुँजी विस्तार, स्वामित्व संरचनामा सुधार तथा प्रविधिगत रूपान्तरणका लागि स्पष्ट र दीर्घकालीन खाका प्रस्तुत गरिएको छ। प्रतिवेदनले नेप्सेलाई अन्तर्राष्ट्रिय स्तरको आधुनिक स्टक एक्सचेञ्जको रूपमा विकास गर्न व्यापक सुधार आवश्यक रहेको निष्कर्ष निकालेको छ।
चुक्ता पुँजी तीन अर्ब पुर्याउने सुझाव
हाल १ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको नेप्सेको पुँजी वृद्धि गरी ३ अर्ब रुपैयाँ पुर्याउन समितिले प्रस्ताव गरेको छ। प्रारम्भिक चरणमा बोनस सेयर जारी गरेर पुँजी बढाउने विकल्प उपयुक्त हुने उल्लेख गरिएको छ। नेप्सेको दीर्घकालीन विकास, प्रविधि विस्तार र सेवा विविधीकरणका लागि थप लगानी अपरिहार्य रहेको प्रतिवेदनको ठहर छ।
विदेशी रणनीतिक साझेदार ल्याउने प्रस्ताव
समितिले नेप्सेमा वैदेशिक रणनीतिक साझेदार भित्र्याउनुपर्नेमा विशेष जोड दिएको छ। विश्वका शीर्ष २० स्टक एक्सचेञ्जमध्येबाट १५ देखि २५ प्रतिशतसम्म स्वामित्व दिने गरी योग्य साझेदार छनोट गर्नुपर्ने सुझाव दिइएको छ। यसले प्रविधि, व्यवस्थापन र अन्तर्राष्ट्रिय अभ्यास भित्र्याउन मद्दत पुग्ने समितिको निष्कर्ष छ।
हाल नेप्सेमा ५८.६६ प्रतिशत सरकारी स्वामित्व रहेकोमा त्यसलाई क्रमशः घटाउँदै निजी क्षेत्र तथा सर्वसाधारणको सहभागिता बढाउनुपर्ने सिफारिस गरिएको छ।
प्रविधि सुधार र नयाँ सेवा विस्तार
प्रतिवेदनले हालको कारोबार प्रणालीलाई व्यापक सुधार वा प्रतिस्थापन गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक प्रविधि जडान गर्नुपर्ने आवश्यकता औँल्याएको छ। नयाँ प्रविधिमार्फत इन्ट्रा–डे ट्रेडिङ, सर्ट सेलिङ र डेरिभेटिभ्स जस्ता आधुनिक सेवा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ।
साथै, साना तथा मझौला उद्योगका लागि एसएमई प्लेटफर्म र नवप्रवर्तनलाई प्रोत्साहन गर्न स्टार्टअप प्लेटफर्म सञ्चालन गर्नुपर्ने प्रस्ताव पनि प्रतिवेदनमा समेटिएको छ।
संस्थागत सुशासन र संरचनागत सुधार
नेप्सेको संस्थागत सुशासन मजबुत बनाउन सञ्चालक समितिमा स्वतन्त्र विज्ञ सञ्चालकहरूको बहुलता आवश्यक रहेको समितिको सुझाव छ। हाल सरकारी निकायको प्रभुत्व रहेको सञ्चालक समितिलाई व्यावसायिक बनाउँदै प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सञ्चालक समितिबाटै गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।
दोस्रो बजार थप सुरक्षित बनाउने योजना
दोस्रो बजारलाई सुरक्षित र विश्वसनीय बनाउन सेन्ट्रल काउन्टरपार्टी (CCP) र अक्सन मार्केट स्थापना गर्नुपर्ने प्रतिवेदनको सिफारिस छ। साथै, नेप्सेको सहायक कम्पनी सीडीएससी (CDSC) को पनि पुँजी, प्रविधि र संरचनामा पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
समग्रमा प्रतिवेदनले नेप्सेलाई आधुनिक, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरमा उभ्याउन गहिरो संरचनागत सुधार अपरिहार्य रहेको स्पष्ट पारेको छ।

