नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार डिजिटल सेवा विस्तार, सेवा प्रवाहलाई थप सहज बनाउने तथा ग्राहकमैत्री प्रणाली विकास गर्ने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याइएको हो।
अब सेवाग्राहीले नेपाल टेलिकमको विद्युतीय सेवा पोर्टलमार्फत आवश्यक विवरण भरेर हराएको वा बिग्रिएको सिमको सट्टा नयाँ भौतिक (Physical) वा विद्युतीय (eSIM) सिमका लागि अनलाइन आवेदन दिन सक्नेछन्।
आवेदन प्रक्रिया पूरा भएपछि ग्राहक स्वयं वा आफूले तोकेको प्रतिनिधिमार्फत सम्बन्धित टेलिकम सेवा केन्द्रबाट नयाँ सिम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै प्रतिनिधिमार्फत पनि सिम बुझ्ने सुविधा उपलब्ध गराइएको टेलिकमले जनाएको छ।
सञ्चार मन्त्रालयको सुधारात्मक कार्ययोजनाअनुसार नेपाल टेलिकमले सेवा गुणस्तर सुधार, ग्राहक सेवा सुदृढीकरण तथा डिजिटल सेवा विस्तारलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको छ।
कार्ययोजनाअन्तर्गत एकपटक मात्रै ग्राहक विवरण दर्ता गर्ने व्यवस्था लागू गर्ने, eSIM वितरण, हराएको सिम पुनः प्राप्ति, गुनासो व्यवस्थापन तथा स्वामित्व हस्तान्तरणलगायत सेवाहरू क्रमशः पूर्ण रूपमा अनलाइनमार्फत उपलब्ध गराउने तयारी गरिएको छ।
यसका साथै, नेपाल टेलिकमका सबै कार्यालयमा एकल सेवा सहायता कक्ष स्थापना गर्ने, फोरजी (4G) सेवाको गुणस्तर सुधार गर्ने तथा डाटा सकिएपछि स्वतः मौज्दात रकम कट्ने व्यवस्था हटाउनेलगायतका सुधार कार्यक्रम पनि कार्यान्वयन गरिने जनाइएको छ।

