पोखरा । गत वर्ष भदौ २४ गते उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा भएको आगजनीबाट नष्ट भएका ६ हजार १२६ थान मिसिलमध्ये ३ हजार ३०७ थान मिसिल पुनः प्राप्त भएका छन्।
उच्च अदालत पोखराका उप–रजिष्ट्रार निलप्रसाद पनेरुका अनुसार उच्च अदालत पोखरामा जलेका २५७ थानमध्ये २५०, कास्की जिल्ला अदालतका २ हजार ६५ थानमध्ये १ हजार ९८९ तथा तनहुँ जिल्ला अदालतका ३ हजार ८०४ थानमध्ये १ हजार ६८ थान पूर्णरूपमा र १५ थान आंशिक रूपमा पुनः प्राप्त भएका छन्।
जिल्ला सरकारी वकिलको कार्यालय तथा सम्बन्धित मुद्दाका पक्षहरूबाट प्राप्त भएका मिसिललाई प्रमाणीकरण गर्ने कार्य भइरहेको अदालतले जनाएको छ।
हालसम्म उच्च अदालतका ७, कास्की जिल्ला अदालतका ७६ र तनहुँ जिल्ला अदालतका २ हजार ७५१ थान मिसिल अझै प्राप्त हुन बाँकी रहेका छन्। मिसिलको अध्ययन, प्रमाणीकरण तथा अभिलेखीकरणका लागि छुट्टै टोली परिचालन गरिएको छ।
उप–रजिष्ट्रार पनेरुले चालु मुद्दामा मिसिल अभाव भएमा फैसला प्रक्रिया अघि बढाउन कठिन हुने भएकाले सम्बन्धित पक्षसँग आवश्यक कागजात उपलब्ध गराउन आह्वान गरिएको बताए। उनका अनुसार पुनः प्राप्त हुने मिसिलको संख्या अझै बढ्न सक्ने सम्भावना छ।
सर्वोच्च अदालतले जारी गरेको मिसिल कागजातको प्राप्ति तथा प्रमाणीकरणसम्बन्धी निर्देशिका अनुसार मिसिल पुनः प्राप्त गर्ने कार्य भइरहेको हो।
गत वर्ष भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा अदालतहरूमा आगजनी हुँदा मुद्दाका मिसिलसहित महत्त्वपूर्ण अभिलेख जलेर नष्ट भएका थिए।

