साउन ७ गते । सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यालयमै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो। आयोगले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
स्रोतका अनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा अधिकृत पालले आफूभन्दा माथिका कर अधिकृत प्रकाश राईसहित अन्य व्यक्तिलाई पनि मिलाउनुपर्ने भन्दै सुरुमै ५ लाख रुपैयाँ घुस मागेका थिए।
घुस दिएपछि मात्र अडिट प्रक्रिया अगाडि बढाइने भन्दै कम्पनीसँग आवश्यक सम्पूर्ण कागजात माग गरिएको आरोप स्रोतले जनाएको छ।
कर परीक्षणका क्रममा आर्थिक लाभका लागि अनुचित लेनदेन गरेको आरोपमा अख्तियारले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको छ।

